काठमाडौं । ओखलढुंगाको रुम्जाटार विमानस्थलमा दसैंको नवमीको दिन नेपाल एयरलाइन्सले उडान सञ्चालन गरेको छ । नियमित कार्यतालिका अनुसार प्रत्येक आइतबार र बुधबार मात्र हुने उडान आज (बुधबार) विशेष दिनमा पनि सञ्चालन भएपछि स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।
मध्य दसैंमा काठमाडौंबाट आधा घण्टामै घर पुग्न पाएका रुम्जाटारवासी सुवास गुरुङले कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडालाई टेलिफोनमै धन्यवाद दिएका छन् । विदेशमा बस्दै आएका गुरुङले भने, “रामहरि दाइले पहल नगरेको भए यति सजिलै घर पुग्न सम्भव हुने थिएन । वर्षौंदेखि बन्द रहेको एयरपोर्ट खुलाएर जिल्लावासीलाई लगाएको गुण हामीले बिर्सन सक्दैनौं ।”
झन्डै पाँच वर्षदेखि बन्द रहेको रुम्जाटार विमानस्थल खतिवडाको पहलमा पुनः सञ्चालनमा आएको हो । विमानस्थल सञ्चालन भएपछि बिरामी तथा बृद्धबृद्धालाई काठमाडौं आउन–जान सहज भएको स्थानीयले बताएका छन् ।
नेपाल एयरलाइन्सले काठमाडौं–रुम्जाटार भाडा ४ हजार ८ सय रुपैयाँ र रुम्जाटार–काठमाडौं भाडा ४ हजार ६ सय रुपैयाँ तोकेको छ । सुरुमा थोरै यात्रु बोकेर उडान गरे पनि हालका दिनमा विमान खचाखच भरिन थालेको एयरलाइन्सले जनाएको छ ।
खतिवडाले विमानस्थल सञ्चालन मात्र नभई रुम्जाटारमा नेपाल एयरलाइन्सको कार्यालय पुनः स्थापना गर्न सहजीकरण गरेका छन् । चुनावताका जिल्लावासीसँग विमानस्थल सञ्चालनको वाचा गरेका खतिवडाले निर्वाचित भएको केही समयमै नियमित उडान सुनिश्चित गर्न पहल गरेका थिए ।
यसैगरी, उनले भने, “आजकल टिकट नपाउनेहरूले फोन गरेरै मिलाइदिन आग्रह गर्नुहुन्छ ।” यससँगै लामो समयदेखि बन्द रहेको रुम्जाटार विमानस्थलमा अहिले नियमित उडान भैरहेको छ ।


प्रतिक्रिया