काठमाडौं । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुद्दा दर्ताका लागि विशेष अदालत पुगेको हाे । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
जग्गा हिनामिना गर्ने योजनामा भएको घुस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियाे ।
गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले ७८ लाख बिगो मागदाबी गरेको छ । त्यस्तै, यस प्रकरणमा मुछिएकाहरू अन्य रामचन्द्र अधिकारी, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनविरुद्ध पनि मुद्दा दायर भएको छ ।
अधिकारीविरुद्ध ५३ लाख, गुरुङविरुद्ध २५ लाख, बुढामगरविरुद्ध ७८ लाख र पुनविरुद्ध २५ लाख बिगो मागदाबी गरिएको छ ।
२८ असार, २०८२ मा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएको थियो । कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा गरिदिन र अनुकुलको व्यक्ति व्यवस्थापन गरिदिने आश्वासन सहित उनले त्यो रकम लिएका थिए ।
अदालतको फैसला अनुसार, जग्गा दर्ता गरिदिनुपर्ने र त्यसका लागि अनुकुलको व्यक्तिलाई मालपोत प्रमुख बनाइदिने आश्वासनमा घुस लिएको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा दिए । घटना सार्वजनिक हुँदै जाँदा त्यही कामका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले पनि पोखराका सुजन लामासँग घुस लिएको विवरण सार्वजनिक भएकाे थियाे ।
उनीभन्दा अघिकी मन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि पटकपटक रकम लिएको खुलेकाे थियाे ।


प्रतिक्रिया