काठमाडौं । प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको झन्डै दुई वर्षअघिको भिडियो सार्वजनिक भएको छ ।
हमासद्वारा सन् २०२३ को अक्टोबर ७ मा बन्धक बनाइएका विपीनको भिडियो इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले पहिलोपटक सार्वजनिक गरेको हो ।
इजरायलको रक्षा बलले बरामद गरी विपिनको परिवारलाई उपलब्ध गराएको भिडिओ अपहरणमा परेको एक महिनापछि खिचिएको विश्वास गरिएको छ ।
हिजो बेलुकी सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियोमा विपिनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको र ‘अर्न एण्ड लर्न’ कार्यक्रमको सिलसिलामा इजरायल आएको बताएका छन् ।
जोशी अक्टोबर ७ को हमला हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि शिक्षा कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । उनलाई किबुत्ज अलुमिम बाट अपहरण गरिएको थियो, जहाँ अन्य धेरै नेपाली नागरिकहरू बस्दै आएका थिए ।
नोभेम्बर २०२३ को वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, जोशीले आफ्नो आश्रयस्थलमा लुकेका सबैको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उक्त रिपोर्टमा उल्लेख भएअनुसार, झ्याल नभएको कोठामा दुईवटा ग्रेनेड प्रवेश गर्दा उनले ती ग्रेनेड समातेर एउटालाई बाहिर फ्याँकिदिएका थिए । दोस्रो ग्रेनेड भने सफल भएन, जसको विस्फोटबाट उनका पाँच साथीहरू गम्भीर रूपमा घाइते भएका थिए ।


प्रतिक्रिया