काठमाडौं । जापानविरुद्ध पाँच विकेटको जित निकालेसँगै नेपाल समूह ‘बी’ को विजेता बन्दै आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा प्रवेश गरेको छ ।
शुक्रबार ओमानको अल अमेरतमा सम्पन्न खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए । कुशल भुर्तेल २१, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे ।
बलिङमा जापानका शोमा स्लेटरले सर्वाधिक २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको बनाएको थियो । जापानका लागि कप्तान केन्डेल काडोवाकी-फ्लेमिङ ४६ बलमा सर्वाधिक ६० रन बनाएका थिए । इसम रहमानले २५ बलमा ३१ रनको योगदान दिए ।
बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले दुई/दुई तथा सोमपाल कामी र नन्दन यादवले एक/एक विकेट लिए ।
जापानलाई हराएसंगै नेपालले २ अंक लिएर सुपर-६ मा गएको छ । अब नेपालले सुपर-६ मा समूह ए र सीबाट आउने २-२ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि शीर्ष ३ मा रहन सके अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया