युवकको बीभत्स हत्या गरी हातमा टाउको बोकेर दुई युवा पुगे प्रहरी कार्यालय

युवकको बीभत्स हत्या गरी हातमा टाउको बोकेर दुई युवा पुगे प्रहरी कार्यालय



काठमाडौं । कैलालीमा आपसी विवाद हुँदा भएको झगडामा एकजनाको बीभत्स हत्या भएको छ । घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति पसलमा रक्सी खानेक्रममा भएको झगडामा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको हो ।

हत्या गर्नेमा घोडाघोडीकै १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री रहेका प्रहरीले जनाएको छ ।

“पसलमा बसेर रक्सी खाएपछि सुरुमा गालीगलौज भएपछि यो घटना भएको पाइएको छ । विवाद बढ्दै गएपछि विक र क्षेत्रीले केशरसिंहलाई धारिलो हतियारले राति ११ः४५ बजे घाँटी रेटेर हत्या गरेको खुलेको छ,” डीएसपी राजकुमार सिंहले भने ।

हत्या गरेपछि बिक र क्षेत्रीले केशरसिंहको टाउको लिएर आफन्तकोमा पुगेका थिए । आफन्तले लुकेर हुँदैन प्रहरीकोमा जानुपर्छ भनेपछि उनीहरू प्रहरीकोमा आएको डीएसपी सिंहले बताए ।

“उनीहरू हातमा टाउको बोकेर प्रहरी कार्यालयमा आउँदै गर्दा हामीले नियन्त्रणमा लिएका हौँ,” डीएसपी सिंहले भने, “पूर्वरिसिबी पनि केही देखिएको छैन । विक र क्षेत्रीको केशरसिंहसँग परिचय नभएको पाइएको छ ।”

पसलमा बसेर रक्सी खानेक्रममा एकले अर्कोलाई गाली गरेपछि विवाद सुरु भएको देखिएको उनले जानकारी दिए ।

“पहिला नै चिनजान नभएकाले घटना गालीगलौजको आवेशमा भएको जस्तो देखिन्छ,” उनले भने, “नियन्त्रणमा लिइसकेको प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।”

केहि समययता यो क्षेत्रमा यसप्रकार घटना घटेका थिएनन् । फेरि शुक्रबार राति घटेको बीभत्स र क्रूर घटनाले सो क्षेत्रका स्थानीयहरु त्रसित भएका छन् ।

प्रहरीले मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखेको छ भने रक्ताम्मे शरीर घटनास्थलमै छ ।

यो घटना भएको जरै बस्ती कैलालीकै मोहन्याल गाउँपालिकाको सीमा नजिक, जङ्गलको फेदमा रहेको छ । यहाँ कम घर थिए। पातलो बस्ती हो । मृतक केशर बहादुर बुढाको घर सुर्खेतको चौकुने गाउँपालिका–३ मोरीवन हो । त्यहाँ उनका आमाबुवा बस्छन् । उनको घोडाघोडी–८ जरैमा पनि घर छ ।

उनी श्रीमती र छोराछोरीसँगै यहाँ बस्दै आएका थिए । सुर्खेतबाट उनका आफन्तहरू कैलाली आइपुगेपछि मात्र शवको मुचुल्का, पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जानकारी दिएकाे छ । प्रहरी शव उठाउन आफन्तलाई कुहिरहेको छ ।

प्रहरीले घटनास्थललाई सिल गरेर थप प्रमाण सङ्कलन गरिरहेको छ ।