काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको जारी खेलमा नेपालले जितका लागि १ सय ४१ रनको लक्ष्य दिएको छ ।
ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रनको योगफल खडा गरेको हो ।
नेपालका ओपनर आसिफले ५१ रनको अर्धशतकीय इनिङ खेले । आसिफले ४७ बलमा चार चौका र एक छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो नवौँ अर्धशतक हो ।
यस्तै, अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा दुई चौका र दुई छक्कासहित २८ रन बनाए । यी दुईले पहिलो विकेटका निम्ति ५६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए ।
आसिफ र भुर्तेलबाहेक, कप्तान रोहितकुमार पौडेलले २० र गुल्सन झाले पाँच बलमा १४ रन जोडे ।
यूएईका जुनैद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, हैदर अली, हर्षित कौसिक र ध्रुव परासरले समान एक विकेट लिए ।
नेपाल समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । यूएई पनि समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो ।
समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो । समूह चरणको छनोट खेलमा नेपाल र युएई अपराजित छन् । दुवै टोलीसँग समान दुई–दुई अंक छ । विश्वकप छनोटमा सहभगिता जनाउनको लागि पनि आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया