दुई जेनजी विद्यार्थीले हाले प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा रिट

दुई जेनजी विद्यार्थीले हाले प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा रिट



काठमाडौं । काठमाडौं विश्वविद्यालयमा कानुन विषयमा अध्ययनरत दुई जेनजी विद्यार्थीले प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

रिट दायर गर्ने विपना शर्मा र आयुष बडाल दुवै जेनजी उमेर समूह अर्थात् २८ वर्ष भन्दा कम उमेरका छन् ।

रिटमा नेपाली जनतामा सार्वभौमसत्ता र राजकीय सत्ता निहित रहेको तर संवैधानिक व्यवस्था र शासन पद्धतिअनुसार संसदलाई प्रधानमन्त्री नियुक्ति भएको जानकारी नभएको र संसदबाट विश्वासको मत प्राप्त नभएको अवस्था रहेको उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार गत असोज २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

रिट निवेदनमा दुवै विद्यार्थीले राष्ट्रपतिबाट संविधान र संघीय कानुन बमोजिम आफ्नो कार्यसम्पादन नभएको र संविधानको खुला एवं स्पष्ट उल्लंघन भएको उल्लेख छ ।

त्यस्तै सर्वोच्च अदालतका पूर्वन्यायाधीशलाई सरकारी पदमा बस्न नमिल्ने संविधानको व्यवस्थाबारे पनि रिटमा उल्लेख छ ।

रिटमा प्रधानमन्त्रीको नियुक्ति नै असंवैधानिक भएकाले संसद विघटन स्वत: अमान्य ठहरिने उल्लेख गरिएको छ ।

रिटमा दुवै विद्यार्थीले आवश्यकताको सिद्धान्त अनुसार सरकार गठन गर्न नमिल्ने भनेका छन् ।

याेसँगै सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध पाँच रिट दायर भएका छन् । मंगलबार बिहान सवा ११ बजेसम्म पाँच रिट दायर भएका हुन् ।

पहिलो नम्बरमा अधिवक्ता प्रेमराज सिलवालको रिट छ । अधिवक्ता कृतिनाथ शर्मा पौडेलको दोस्रो, युवराज सफल पौडेलको तेस्रो नम्बरमा छ । विपना शर्मा र आयुष बडालको चौथो तथा मकबुल मियाको पाँचौँ नम्बरमा छ ।