काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा लोडसेडिङ नहुने र ढुक्कसँग जति पनि बत्ती बालेर चाड मनाउन सकिने बताएको छ । उज्यालोको पर्व तिहारमा बिजुली आपूर्तिको कुनै समस्या नहुनेमा विश्वस्त रहन प्राधिकरणले आम उपभोक्तालाई आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार तिहारको समयमा उद्योगधन्दाहरू बन्द हुने भएकाले औद्योगिक क्षेत्रमा खपत हुने ठुलो मात्रामा बिजुली बचत हुन्छ । जसलाई घरायसी प्रयोजनका लागि सहजै उपलब्ध हुन्छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार तिहारमा विद्युत् आपूर्तिमा समस्या हुँदैन । उनले भने– ‘पहिले तिहारको लक्ष्मी पूजामा सबैभन्दा बढी लोड हुन्छ भन्ने बुझाइ थियो, तर उद्योगहरू बन्द हुँदा समग्र प्रणालीमा लोड घट्छ । अहिले विद्युत् खेर जाने अवस्था छ, त्यसैले जति पनि प्रयोग गर्न सक्नुहुन्छ ।’
उनले प्राविधिक समस्याबाहेक अन्य कारणले बत्ती नजानेमा ढुक्क हुन आग्रह गरे । तिहारमा उद्योगहरू बन्द हुँदा दैनिक करिब २०० देखि ३०० मेगावाट विद्युत् बचत हुनेछ ।
उक्त बिजुली सिधै घरायसी उपभोक्तालाई उपलब्ध गराइनेछ, जसले गर्दा बत्तीको माग बढे पनि आपूर्तिमा कुनै कमी हुनेछैन ।


प्रतिक्रिया