५५ लाख ठगी आरोपमा कलाकार ध्रुव न्यौपाने पक्राउ

५५ लाख ठगी आरोपमा कलाकार ध्रुव न्यौपाने पक्राउ



काठमाडौं । फिल्म निर्माता तथा कलाकारका रूपमा परिचित मकवानपुरका ध्रुव न्यौपाने ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरको टोलीले आइतबार बिहान काठमाडौँस्थित ‘जनता आवास’बाट न्यौपानेलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार न्यौपानेले पीडितसँग झापामा रहेको जग्गा पास गरिदिने भन्दै ५५ लाख रुपैयाँ लिएका थिए। पैसा लिएर उनी फरार भएपछि पीडितले प्रहरीमा उजुरी दर्ता गराएका थिए।

२०८० भदौ १० गते रकम बुझेर फरार भएका न्यौपानेले उजुरी परेको थाहा पाएपछि भदौ ११ गतेको मिति राखेर सिद्धार्थ बैंकको चेक दिएका थिए। तर सो चेक बैंकबाट अनादर भएपछि प्रहरीले उनीविरुद्ध चेक अनादर मुद्दा दर्ता गरी पक्राउ प्रक्रिया अघि बढाएको हो।

न्यौपानेले पहिले नै रोक्का भैसकेको झापा मेचीनगर–१ मा रहेको १० धुर जग्गा देखाएर रकम लिएको अनुसन्धानमा खुल्न आएको छ। सो जग्गा निर्माता तथा निर्देशक छवि ओझाले न्यौपानेले आफूलाई ३० लाख ठगेको दाबी गर्दै काठमाडौं जिल्ला अदालतमार्फत रोक्का गराइसकेको पाइएको छ।

अदालतबाट रोक्का भएको जग्गा देखाएर ठगी गरेको अभियोगमा पक्राउ परेका न्यौपानेले पछिल्ला वर्षहरूमा धेरैबाट ठगी गरेको प्रमाण भेटिएको प्रहरीले जनाएको छ। कलाकारिताको आवरणमा उनले धेरैलाई विश्वासमा पारेर रकम ठग्दै आएको स्रोत बताउँछ।

मनोरञ्जन क्षेत्रको परिचयलाई आवरण बनाएर न्यौपानेले पछिल्ला वर्षहरूमा विभिन्न व्यक्तिहरूलाई लक्षित गरी ठगी गर्दै आएको स्रोतले जनाएको छ। उनी रोजमेरी क्याफे सञ्चालनमार्फत चलचित्रकर्मीहरूसँग नजिकिएर मोडलिङ तथा अभिनयमा प्रवेश गरेका थिए। उनका नाममा ५० भन्दा बढी म्यूजिक भिडियो र ‘प्लान’, ‘सन्त्रास’, ‘पायल’ लगायत चलचित्रमा अभिनय रहेको स्रोतले बताएको छ। साथै ‘ध्रुवतारा फिल्म्स’को ब्यानरमा ‘हिरो रिटर्न्स’, ‘मायावी’ तथा ‘नरसिंह अवतार’ नामका चलचित्र निर्माण गरेको विवरण पनि खुलेको छ।

कोभिड–१९ महामारीपछि कलात्मक गतिविधि अवरुद्ध भएपछी उनी सक्रिय रूपमा जग्गा कारोबारमा लागेका थिए। रोजमेरी क्याफे मार्फत धेरैलाई ठगी गरेपछि उनी भागेर झापा पुगेको खुलेको छ । झापामा एक व्यक्तिलाई प्रभावमा पारी २० देखि २२ विघा जग्गा प्लटिङ गरी चलनचल्तीको मूल्यभन्दा दोब्बरमा बिक्री गराएको, आफूले ठगेका व्यक्तिहरूलाई दोब्बरमा मुल्यमा जग्गा भिडाई थप ठगीको श्रृंखला दोहोर्याएको अनुसन्धानले देखाएको छ।

त्यसबाहेक चितवनमा दुई होटल तथा ‘चेतना कन्स्ट्रक्सन’ नामक ‘क’ वर्गको निर्माण व्यवसायमा सह–लगानीकर्ता रहेको तथ्य पनि अनुसन्धानबाट बाहिरिएको छ।

प्रहरीले यस प्रकरणमा थप अनुसन्धान जारी राखेको जनाएको छ।