मुक्तिनाथ क्षेत्रकाे यात्रामा नजान प्रशासनको आग्रह

मुक्तिनाथ क्षेत्रकाे यात्रामा नजान प्रशासनको आग्रह



काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात भएको छ । हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरु प्रभावित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै हिमपात भइरहेकाले यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ ।

मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ ।

त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्न/नगराउन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।

मुस्ताङको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरुले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर यात्रा गर्न भनिएको छ ।

मौसम प्रतिकुल हुनसक्ने देखिएकाले सचेत गराउन र हेलचेक्रयाइँ नगर्न प्रजिअ भुसालको आग्रह छ ।

गण्डकी प्रदेशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र वर्षा हुने देखिएको छ । ‘हिमपात र वर्षाका कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमासमेत असर पर्ने सम्भावना भएकाले सतर्कता अपनाउनु हुन अनुरोध छ,’ मौसम पूर्वानुमान महाशाखाले सूचित गरेको छ ।