कास्की । गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात भइरहेकाले सकभर यो बेला पदयात्रामा नजान कास्की प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले आज सार्वजनिक सूचनामार्फत आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको हो । प्रतिकूल मौसमका कारण उत्पन्न हुनसक्ने जोखिम र लेक लाग्नसक्ने भएकाले अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै डाँडा, कोरीलगायतका ठाउँमा मौसम सफा नभएसम्म पदयात्रामा नजान प्रशासन कार्यालयकाे आग्रह छ ।
पदयात्रामा जाँदा आधिकारिक मौसमी सूचनाको पालना गर्न, गन्तव्यस्थलका बारेमा प्रयाप्त जानकारी लिई तयारीका साथ जान र खाना तथा आवासका लागि अग्रिम बुकिङ गर्न सूचनामा भनिएको छ ।
पदयात्रामा जाँदा एक्लै नगई समूहमा जान र हतार नगरी बिस्तारै उचाइतर्फ जान प्रशासनकाे आग्रह छ । पदयात्रा गर्दा पञ्जा, टोपी, ज्याकेटलगायत न्यानो कपडा, तातोपानीसहितको थर्मस, लेक लाग्दा प्रयोग गरिने औषधि साथमा लैजान पनि अनुरोध छ ।
पर्याप्त मात्रामा तातोपानी, जीवनजल, झोलिलो खानेकुरा खान र जाँड–रक्सी नखान सूचनामा उल्लेख छ ।



प्रतिक्रिया