काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति विराटनगर किंग्सले दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसलाई ल्याएको छ ।
विराटनगरले शुक्रबार सामाजिक सञ्जालमार्फत दक्षिण अफ्रिकाका पूर्वकप्तानसमेत रहेका डू प्लेसिसलाई सार्वजनिक गरेको हो ।
डू प्लेसिससँग विश्वभरका फ्रेन्चाइज क्रिकेट लिग खेलेको अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुबाट २०२२ देखि २०२४ सम्म प्रतिस्पर्धा गरेका थिए ।
दक्षिण अफ्रिकाबाट उनले ६९ टेस्ट, १४३ एकदिवसीय र ५० टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यस क्रममा उनले २३ शतक र ६६ अर्धशतक प्रहार गरेका छन् ।
सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरले यसअघि अस्ट्रेलियाका ब्याटर साम हिजलेट र स्कटल्यान्डका ब्याटर जर्ज मुन्सेलाई भित्र्याएको थियो ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुने तालिका छ ।


प्रतिक्रिया