गोरखा । गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ ।
पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । दुवैजनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले बताए ।
आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ । पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गएको बुधबार (कात्तिक १२)देखि पहिलो र आधार शिविरमा अलपत्र परेका थिए । फरिनातो र गापुटो हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा हिमपातका कारण अलपत्र परेका बताइएको छ ।
उनीहरूसँगै अलपत्र परेका इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोको भने हेलिकोप्टरमार्फत उद्धार गरिएको डीएसपी श्रेष्ठले बताए । आइतबार उनको उद्धार गरिएको थियो ।
उनको साथमा रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङलाई सोही दिन हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका निम्ति काठमाडौं पठाइएको उनले बताए ।


प्रतिक्रिया