काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ४० रनकाे लक्ष्य दिएकाे छ ।
दुबईमा टस हारेर ब्याटिङ गरेकाे नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन बनायाे । नेपालका भीम सार्कीले ४८, कुशल मल्लले ४५ रन बनाए । यूएईका जुनैद सिद्दिकी, मुहम्मद जावदुल्लाह र ध्रुव पराशरले २/२ विकेट लिए ।
यूएईमा चलिरहेको त्रिदेशीय शृङ्खलाकाे याे अन्तिम खेल हाे । शृङ्खलामा घरेलु टाेली यूएई, नेपाल र अमेरिका सहभागी छन् । आजको खेलपछि नेपाली टोली स्वदेश फर्कनेछ ।
नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनले र अमेरिकासँगकै अर्को खेलमा ४ विकेटले पराजित भएको थियो । यस्तै नेपाल यसअघि यूएईसँगको खेलमा ५ विकेटले पराजित भएको थियो ।
नेपाल १९ खेलमा १२ अंकसहित तालिकाको सातौं स्थानमा छ । अमेरिका २४ खेलमा ३६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यूएई १९ खेलमा ८ अंकसहित तालिकाको पुछारमा छ ।


प्रतिक्रिया