आईजीपी कार्कीले सम्हाले नेपाल प्रहरीको कमान्ड

आईजीपी कार्कीले सम्हाले नेपाल प्रहरीको कमान्ड



काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको कमान्ड सम्हालेका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका छन् ।

३० वर्षे उमेरहदका कारण अघिल्ला आईजीपी चन्द्रकुबेर खापुङ बिहीबार राति अनिवार्य अवकाशमा गएपछि कार्कीले नेपाल प्रहारीको कमान्ड सम्हालेका हुन् ।

कार्कीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपीमा नियुक्त गरेको थियो ।

२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।

डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका थिए । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।

चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् ।