काठमाडौं । काठमाडौंको र्कीतिपुरमा रहेको त्रिवि क्रिकेट रङ्गशालामा फ्लडलाइट जडानको काम सकिएको छ । रङ्गशालालाई सबै क्षेत्रबाट घेरिने गरी ६ वटा पोलमा नै फ्लडलाइट जडान सकिएको निर्माण कम्पनी विशन–ईश्वरी जोइन्ट भेन्चर ललितपुरले जनाएको छ ।
एउटा पोलमा एमिङ अर्थात् बत्तीको फोकस मिलाउने र बत्तिको प्रकाशको परीक्षणको काम बाँकी छ । आज बेलुकी एमिङ र बत्तिको परीक्षणको काम सकेर हस्तान्तरणको तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
एउटा पोलमा ७० वटा लाइटसहित सबै पोलमा चार सय २० वटा लाइट जडान भएका छन् । कुनको प्रकाश कहाँ पर्छ ? भनेर मैदानभर नै स–साना झन्डाको चिह्न बनाएर एमिङ र प्रकाशको काम भइरहेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाउने गरी खेलतालिका गएको आइतवार नै सार्वजनिक गरिसकेको छ ।
तोकिएको अवधिमै काम सकियो भने नेपालमा पहिलो पटक फ्लडलाइटमा फ्रेन्चाइज क्रिकेट हुनेछ । एनपीएलका लागि आवश्यक अन्तिम चरणको काम भइरहेको क्यान प्रवक्ता छुम्बी लामाले बताए ।
पर्सि मंसिर १ गते सोमवारदेखि शुरु हुने दोश्रो संस्करणको एनपीएलको उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबीच हुनेछ ।


प्रतिक्रिया