एनपीएल : क्रिकेट महाकुम्भको शानदार शुरूआत

एनपीएल : क्रिकेट महाकुम्भको शानदार शुरूआत

आज पहिलो खेलमा चिवतन राइनोज र कर्णाली याक्स, दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं । ‘फ्लड लाइट’ को उज्यालो र १० हजारभन्दा बढी दर्शकलाई साक्षी राखेर नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण हिजोदेखि शुरू भयो ।

कीर्तिपुरको चिसो डाँडामा साँझ अबेरसम्म हजारौँ दर्शक क्रिकेटको रौनकमा रमाए । तीन दिनअघि नै उद्घाटन खेलको टिकट ‘सोल्ड आउट’ भए पनि खेल नसकिँदासम्म मैदान बाहिर पनि हजारौँ दर्शक बसिरहे ।

टिकट नपाउनेहरु कसैले रुखमै चढेर खेल हेरे भने कतिले अग्लो स्थानमा बसेर टाढैबाट हेर्दै प्रतियोगिताको साक्षी बने । नेपाली क्रिकेटको यो महाकुभ्म मेला यही मङ्सिर २७ गतेसम्म यसैगरी चल्नेछ । जहाँ हरेक दिन हजारौँ दर्शकले साथ दिनेछन् ।

एनपीएलको पहिलो संस्करण अपेक्षा गरिएभन्दा बढी सफल भएपछि दोस्रो संस्करण थप स्तरीय मात्रै भएको छैन, यसले नेपाली मनलाई एकापसमा जोड्ने बलियो माध्यम पनि भएको छ ।

पूर्वाधारका हिसाबले यस वर्ष फ्लड लाइट थपिएको छ । नेपाली दर्शकले पहिलोपटक क्रिकेटमा ‘डे–नाइट’ खेल हेर्न पाएका छन् । गएको वर्ष खुला मैदानमा खचाखच भरिएका दर्शक यसपटक सहज रुपमा सिटमा बसेर रमाए । नयाँ क्रिकेट खेलाडीले मौका पाए । एनपीएलको चर्चा विदेशी क्रिकेटप्रेमीमाझ अझ बलियो भयो । विदेशका पूर्वक्रिकेटरहरु प्रशिक्षकका रुपमा एनपीएलमा जोडिएका छन् ।

त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माणमा ४४ करोड ७७ लाख रुपैयाँ र फ्लड लाइटका लागि ४२ करोड १९ लाख रुपैयाँ खर्च भइसकेको छ । एउटै मैदानको स्तरोन्नतिका लागि यति ठूलो रकम एकै पटक जुट्न दर्शकको साथकै कारण सम्भव भएको हो । त्यसैले त एनपीएल खेलमा मात्रै सीमित नभई आर्थिक र सामाजिक दृष्टिले पनि महत्त्वपूर्ण बनेको छ । यो पछिल्लो समय विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने सेतु बनेको छ ।

एनपीएल दोस्रो संस्करणको पहिलो खेल पहिलो संस्करणका विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाजबीच भयो । जसमा काठमाण्डौ गुर्खाजले नतिजा पाँच विकेटले आफ्नो पक्षमा पार्न सफल भयो ।

आज दुई खेल हुने

एनपीएल) दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल आयोजना हुँदै छन् ।

आज हुने पहिलो खेलमा यसअघि प्लेअफसम्मको यात्रा तय गरेका चिवतन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धामा उत्रिँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।

यसअघि गत सिजन तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको चितवनलाई कर्णालीले नै इलिमिनेटरमा २१ रनले हराएका थियो । कर्णालीले भने चौथो स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको थियो । यस्तै, लिग चरणमा पनि कर्णालीले चितवनविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ । त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर र पोखरा लिग चरणबाटै बाहिरिएका थिए । विराटनगरले पहिलो संस्करण पाँचौँ र पोखराले सातौँ स्थानमा रहँदै टुंग्याएको थियो ।

पहिलो संस्करणमा यी दुई टिमबीच भेट हुँदा पोखराविरुद्ध विराटनगरले सुपर ओभरमा जित निकालेको थियो ।