काठमाडौं । हर्मित सिंहको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो दोस्रो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शीर्ष र मध्यक्रमका ब्याटरलाई सस्तैमा गुमाए पनि हर्मित र कप्तान दीपेन्द्रसिंह ऐरीले सम्हालिँएर ब्याटिङ गरेपछि सुदूर प्रतिस्पर्धात्मक योगफलसम्म पुगेको हो ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको हो ।
अर्धशतक प्रहार गरे लगत्तै आउट भएका हर्मितले २ चौका र ६ छक्का प्रहार गरे ।
कप्तान ऐरीले हर्मितसँग सातौं विकेटका लागि ४.१ ओभरमा ६१ रनको साझेदारी गरेका थिए । दीपेन्द्रले १८औं ओभरमा आउट हुनुअघि ३० बलमा ३९ रनको योगदान गरे । उनले ३ चौका र १ छक्का प्रहार गरे ।
त्यसअघि पहिलो ओभरमै काठमान्डुका कप्तान करण केसीले दुई विकेट लिएपछि सुदूरपश्चिम सुरूमै दबाबमा पर्यो । दोस्रो बलमा अस्ट्रेलियन ब्याटर जोश ब्राउनलाई करणले शून्यमा एलबिडब्लूको धरापमा पारे ।
ओभरको अन्तिम बलमा विनोद भण्डारी पनि भीम सार्कीबाट समातिए । तेस्रो ओभरमा करणले अर्का अस्ट्रेलियन ब्याटर क्रिस लिनलाई दुई रनमा मिलिन्द कुमारबाट क्याच गराए । त्यसपछि इशान पाण्डेलाई मिलिन्द कुमारले पावरप्लेको अन्तिम बलमा ११ रनमा आउट गरे ।
पावरप्लेमा सुदुरपश्चिमले चार विकेट गुमाउँदा २७ रन मात्र जोडेको थियो। लगातार विकेट गुमाएको सुदूरपश्चिमका नरेश साउदले १२ बलमा ६ रन मात्र जोड्न सके ।
बलिङमा काठमान्डुका करण केसीले ४ विकेट लिए । रशिद खान, मिलिन्द कुमार र सनी पटेलले २-२ विकेट लिए ।


प्रतिक्रिया