सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य

सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य



काठमाडौं । ओपनर जस ब्रोनको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९३ रनको योगफल खडा गरेको हो ।

सुदूरपश्चिमका अस्ट्रेलियन ओपनर जोस ब्राउनले ३५ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ६८ रन जोडे । अर्का अस्ट्रेलियन ब्याटर क्रिस लिन पनि आक्रामक रूपमा प्रस्तुत भए। उनले १३ बलमा ३१ रन प्रहार गर्दा ४ चौका र २ छक्का हाने ।

त्यसपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी १० बलमा १५ रन जोडेर आउट भए । विनोद भण्डारीले ४२ बलमा ६ चौकाको मद्दतमा ४३ रनको योगदान गरे । हर्मित सिंहले ४ रन मात्र जोड्न सके । यस्तै स्कट कुगेइलिने पनि ८ रनमा आउट भए । अन्तिम ओभरको पाँचौ बलमा आरिफ शेख शून्यमा एलबिडब्लूको धरापमा परे ।

बलिङमा पोखराका जिमी निशमले ३ विकेट लिए । उनले ४ ओभरमा ४७ रन खर्चिए । आकाश चन्द र डान डाउथवेटले २-२ विकेट लिन सफल भए । आकाशले ४४ रन खर्चिदा डानले २४ रन मात्र दिए ।