काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–६, घोराखरीसहित देशभरका २३ वटा इलाका प्रशासन कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय छिटोभन्दा छिटो कार्यान्वयन गर्न आग्रह गर्दै ओखलढुंगाबाट निर्वाचित निवर्तमान सांसद रामहरि खतिवडाले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसँग विशेष भेटवार्ता गरेका छन्।
भेटका क्रममा गृहमन्त्री अर्यालले मन्त्रिपरिषद्को निर्णयअनुसार ओखलढुंगाको घोराखरीमा इलाका प्रशासन कार्यालय संचालन प्रक्रिया अगाडि बढाउन आवश्यक निर्देशन दिने प्रतिबद्धता व्यक्त गरे।
सांसद खतिवडाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आसन्न निर्वाचनमा सहभागिताको औपचारिक निर्णय गरिसकेकाले देशभर शान्ति–सुरक्षा सुदृढ गर्न सरकार गम्भीर हुनु आवश्यक रहेको उल्लेख गरे। उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आवश्यक तयारी तथा सुरक्षा व्यवस्थापन बिना ढिलाइ अघि बढाउन आग्रह गरे।
तत्कालीन सुरक्षा चुनौतीहरूबारे बुझाउँदै खतिवडाले केही अराजक समूहहरू घर–घर गएर धम्की दिने, त्रास फैलाउने र अवाञ्छित गतिविधि बढाइरहेको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे। यस्ता क्रियाकलापले जनताको मनोबल कमजोर पार्नुका साथै निर्वाचनमा प्रतिकूल असर पार्न सक्ने हुँदा गृह मन्त्रालयले कडाइका साथ प्रभावकारी कदम चाल्नुपर्ने उनले बताए।
राज्य संयन्त्रलाई सशक्त रूपमा परिचालन गर्दै नागरिकको सुरक्षामा सरकार सक्रिय, संवेदनशील र जिम्मेवार बन्नुपर्नेमा जोड दिंदै खतिवडाले सम्भावित जोखिम न्यूनीकरणका लागि तत्काल हस्तक्षेप आवश्यक रहेको उल्लेख गरे।



प्रतिक्रिया