महिला हिंसा अन्त्यका लागि पहिले गरिबी अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की

महिला हिंसा अन्त्यका लागि पहिले गरिबी अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले महिला हिंसा अन्त्यका लागि पहिले गरिबी अन्त्य गर्नुपर्ने बताएकी छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

उनले गरिबी रहँदासम्म समानता नहुने बताइन् । गरिबी हटाउन भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र सुशासन ल्याउनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, “पहिले गरिबी हटाउनुपर्‍यो । रोजगारी सिर्जना गर्नुपर्‍यो। महिलाले पनि रोजगारी गर्न पाउनुपर्‍यो । त्यसपछि मात्र समानता आउँछ, हिंसाको अन्त्य हुन्छ ।”

महिला हिंसा अन्त्यका लागि स्वदेशमा नै रोजगार सिर्जना गर्नुपर्ने बताइन् । नेपालमा नै रोजगार सिर्जना गर्न सकेमात्र महिला हिंसा अन्त्य हुने बताएकी छन् ।

उनी भन्छिन्, “मुलुकमा बेरोजगारीको अवस्था भयावह रहेकाले महिलाहरू रोजगारी खोज्दै विदेश जानुपरिरहेको छ। रोजगारी खोज्दै विदेशमा गएर महिलाहरू हिंसाले प्रताडित हुनुपरेको छ ।”

प्रधानमन्त्री कार्कीले आफू सरकारमा आएयता नियुक्ति गर्दा महिलालाई प्राथमिकता दिएको बताइन् ।