काठमाडौं । मध्यक्रम ब्याटर रवि बोपाराको अर्धशतकप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७४ रनको योगफल खडा गर्यो ।
चितवनका बोपाराले सर्वाधिक ६५ रन बनाए । बोपाराले ३८ बलमा तीन चौका र चार छक्का प्रहार गरे । एनपीएलको दोस्रो संस्करणमा बोपाराको यो लगातार तेस्रो अर्धशतक हो ।
सैब जैबले ३२ रन बनाए । यस्तै, कप्तान कुशल मल्लले १४ बलमा एक चौका र एक छक्कासहित २० रन थपे ।
देव खनालले २२ बलमा तीन चौका र एक छक्कासहित २८ रन जोडे । डेविड मलानले नौ बलमा तीन चौका प्रहार गर्दै १७ रन बनाए ।
विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लिंगेले समान दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २४ रन खर्चिए । यस्तै, सुभव रन्जानेको नाममा एक विकेट रह्यो ।
प्रतियोगितामा विराटनगर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ ।


प्रतिक्रिया