काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज (मंसिर २३) साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई विराटनगर किंग्सले चुनौती प्रस्तुत गर्दै छ ।
यी दुई टिम लिग चरणमा भिड्दा सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाएको थियो ।
लिग चरणमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै चार विकेटमात्र गुमाएर भेट्टाएको थियो ।
यसैकारण लिगमा सातमध्ये ६ खेल जितेको भए पनि आज सुदूरपश्चिमलाई विराटनगरको त्यस्तै विस्फोटक ब्याटिङको डर छ ।
लिगमा सुदूरपश्चिमले पहिलो र विराटनगरले दोस्रो स्थान सुनिश्चित गरेका थिए । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोड्दा विराटनगरले १० अंक जोडेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्ने टिमले सोझै प्लेअफमा स्थान पक्का गर्नेछ ।
यता, हार्ने टिमले भने बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्ने तालिका छ ।


प्रतिक्रिया