काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ ।
एनपीएलको इतिहासमा यी दुवै टिमले पहिलोपटक प्लेअफमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
यसअघि पहिलो संस्करणमा काठमाण्डूले पाँचौँ र लुम्बिनीले पुछारमा रहँदै प्रतियोगिता टुंग्याएका थिए ।
प्रतियोगितामा काठमाण्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफमा आएका हुन् । सात खेलबाट १० अंकसहित लिग चरणमा काठमाण्डूले तेस्रो स्थान सुनिश्चित गरेको थियो ।
यता, समान खेल खेलेको लुम्बिनीले भने आठ अंक जोडेको थियो ।काठमाण्डूविरुद्ध मैदान उत्रिँदा लुम्बिनी लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।
यसअघि लिगमा काठमाण्डूले लुम्बिनीविरुद्ध २२ रनको जित निकालेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजे सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया