लुम्बिनीलाई दोस्रो क्वालिफायर पुग्न काठमाण्डूले दियाे ११२ रनको लक्ष्य

लुम्बिनीलाई दोस्रो क्वालिफायर पुग्न काठमाण्डूले दियाे ११२ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा लुम्बिनी लायन्सविरुद्ध काठमाण्डू गोर्खाज पहिलो इनिङमा १११ रनमै समेटिएको छ । योसँगै दोस्रो क्वालिफायर पुग्न लुम्बिनी लायन्सले ११२ रनको लक्ष्य पाएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको काठमाण्डूले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो ।

काठमाण्डूका सन्तोष यादवले सर्वाधिक २२ रन बनाए । आदिल आलम र जोन सिम्पसनले समान १८ रन बनाए । भीम सार्कीले १४ रन थपे । कप्तान करण केसीले १४ बलमा नौ रन जोडे ।

काठमाण्डूबाट शीर्षक्रममा क्रमशः ओपनिङ, तेस्रो र चौथो नम्बरमा आएका बेन चाल्र्सवर्थले चार, आकाश त्रिपाठीले एक, सन्नी पटेलले सात र मिलिन्द कुमारले दुई रनमात्र बनाउन सके । रासिद खानले दुई रन जोडे ।

काठमाण्डूलाई सस्तैमा समेट्न लुम्बिनीका स्पिन शेर मल्लले तीन विकेट लिए । चार ओभरमा शेरले २२ रनमात्र खर्चिए । कप्तान रोहितकुमार पौडेलले पनि चार ओभरको स्पेलमा २५ रन खर्चिएर तीन विकेट नै हात पारे । रुबेन ट्रम्पेलमनले दुई विकेट लिए । ३.१ ओभरमा उनले एक मेडनसहित सात रनमात्र खर्चिए । अभिशेष गौतमको नाममा एक विकेट लिए ।