एनपीएलकाे दोस्रो क्वालिफायरमा विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

एनपीएलकाे दोस्रो क्वालिफायरमा विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

उपाधिका निम्ति साविक उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्ने



काठमाडौं । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ को फाइनलमा प्रवेश गरेको छ ।

लुम्बिनीले अब उपाधिका निम्ति साविक उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले यसअघि पहिलो क्वालिफायरमा विराटनगरविरुद्ध नै ७७ रनको जित निकाल्दै लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको थियो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याए पनि विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटियो ।

विराटनगरलाई सस्तैमा समेट्न लुम्बिनीले प्रयोग गरेका पाँचमध्ये पाँचै बलरले विकेट लिए । तिलक भण्डारीले तीन विकेट लिए भने अभिषेश गौतम, जेजे स्मिथ र रुबेन ट्रम्पेलमनले समान दुई विकेट लिए । शेर मल्लको नाममा एक विकेट रह्यो ।

विराटनगरका साम हेजलेटले सर्वाधिक ३४ रन बनाए । नरेन भट्टले २१ र मर्चेन्ट डी लांगेले १७ रन थपे । विराटनगरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

ओपनरद्वय मार्टिन गप्टिल र फाफ डू प्लेसिसले क्रमशः दुई र तीन रनमात्र जोडे । तेस्रो क्रमका ब्याटर लोकेश बम ‘गोल्डेन डक’ भए । शंकर रानाले सात रन थपे । बसिर अहमेद र कप्तान तथा मार्की सन्दीप लामिछानले समान तीन रनमा पभेलियन फर्किए । प्रशितक जिसीको नाममा दुई रन रह्यो ।

टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनको योगफल खडा गर्यो ।

लुम्बिनीका ओपनर डार्सी शर्टले सर्वाधिक ४५ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्कासहित ३४ रन थपे ।

निरोसान डिकवेलाले २२ बलमा चार चौकासहित २९ रन जोडे । रुबेन ट्रम्पेलमनले ११ रन बनाए । लुम्बिनीका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । सन्दीप जोरा र जेजे स्मिथले ‘डक’ भए । दीलिप नाथ र दीनेश अधिकारी पनि समान एक रनमा पभेलियन फर्किए ।

विराटनगरका स्पिनर सुवास भण्डारीले तीन विकेट लिए । प्रतिश जिसीले तीन र कप्तान सन्दीप लामिछानले दुई विकेट लिए ।

प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुने तालिका छ ।