काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा विश्वले रुसलाई सम्मानजनक व्यवहार गरेमा युक्रेनपछि अर्काे कुनै युद्ध नहुने बताएका छन् । आफ्नो वार्षिक पत्रकार सम्मेलनमा पुटिनले रुसले युरोपेली देशहरूमा आक्रमण गर्ने योजना बनाएको भन्ने दाबीलाई ‘बेतुकका’ भनेर खारेज गरेको बीबीसीले जनाएको छ ।
टेलिभिजनमा प्रसारित झन्डै साढे चार घण्टाको एक कार्यक्रममा बीबीसीका स्टिभ रोजन्बर्गले पुटिनलाई भविष्यमा कुनै नयाँ ‘विशेष सैन्य कारबाही’ हुन्छ कि भनेर सोध्नुभएको थियो ।
त्यसको जवाफमा रुसी राष्ट्रपति पुटिनले रुसलाई सम्मानपूर्वक व्यवहार गरिए र रुसको हितलाई सम्मान गरेमा कुनै कारबाही नहुने बताएको खबरमा उल्लेख छ ।
यस महिनाको शुरूमा पुटिनले रुसले युरोपसँग युद्धको योजना नबनाएको तर युरोपेली देशहरूले चाहेमा ‘अहिल्यै’ तयार रहेको बताएका थिए ।
यसैबीच यो कार्यक्रमको केही घण्टापछि युक्रेनी अधिकारीहरूले युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमणमा सात जना मारिएका र अन्य १५ जना घाइते भएको बताएका छन् ।
रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण शक्तिका साथ आक्रमण शुरू गरेको थियो र अहिले युक्रेनी भू–भागका केही भागहरूमा नियन्त्रण राखेको छ ।


प्रतिक्रिया