बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन



ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी जियाको आज बिहान उपचारका क्रममा निधन भएको हो । उनी विगत २० दिनदेखि भेन्टिलेटरमा रहेकी थिइन् ।

खालिदा जिया विगत केही वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखा सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिइन्। उनको निधनको पुष्टि परिवार र पार्टीका नेताहरूले गरेका छन् ।

सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म गरी दुई पटक बंगलादेशको प्रधानमन्त्री बनेकी जिया पूर्व राष्ट्रपति जिया-उर-रहमानकी पत्नी हुन् । उनी बंगलादेशको इतिहासमा पहिलो महिला प्रधानमन्त्री समेत हुन् ।

उनका जेठा छोरा एवं बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान सन् २००८ देखि लन्डनमा बस्दै आएका थिए र उनी यसै महिना मात्र बंगलादेश फर्किएका छन् । उनका कान्छा छोरा अराफात रहमानको भने सन् २०१५ मा हृदयाघातका कारण निधन भइसकेको छ ।

जियाको निधनसँगै बंगलादेशले एक प्रभावशाली राजनीतिक व्यक्तित्व गुमाएको छ ।