सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली प्रहारबाट एक जनाको ज्यान गएपछि स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
तस्करी नियन्त्रणका लागि अनुसन्धानका क्रममा खटिएको सशस्त्र प्रहरीले गएराति गोली चलाउँदा स्थानीय बासिन्दा ४५ वर्षीय विजय साहको घटनास्थलमै ज्यान गएको थियो ।
सीमावर्ती क्षेत्रबाट दुई–तीन वटा सिटी सफारी तथा अटो रिक्सामा चोरी/तस्करी गरी मालसामान ल्याउँदै गर्दा प्रहरीसँग दोहोरो भीडन्त भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका प्रमुख एसपी निर्मल थापाको दाबी छ । तर स्थानीयवासीले भने प्रहरीले रोकेर सोधपुछका क्रममा गोली चलाएको आरोप लगाएका छन् ।
सशस्त्र प्रहरीले शाहको हत्या गरेको भन्दै आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेपछि लौकही बजार तनावग्रस्त बनेको छ । पूर्व–पश्चिम राजमार्गमा रहेको लौकही बजारमा मृतक साहको शव राखेर उनीहरूले सडक अवरुद्ध गरेका छन् ।
स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले भीड तितरबितर पार्न हवाई फायर गरेको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयवासीको माग छ ।


प्रतिक्रिया