एआईले संसार हल्लाएको वर्ष २०२५

एआईले संसार हल्लाएको वर्ष २०२५



सयौँ अर्ब डलरको लगानी, मानसिक स्वास्थ्यमा जोखिम र हजारौँ रोजगारी कटौतीः यी सबैको पछाडि के छ ?

एउटै जवाफ हो– आर्टिफिसियल इन्टेलिजेन्स (एआई)।

कसैका लागि यो भविष्य हो त कसैका लागि सेयर बजारको अर्को ‘बबल’ (पानीको फोका)। दशकौँदेखि पर्दा पछाडि रहेको एआई प्रविधि सन् २०२२ मा ओपनएआईको ‘च्याटजीपीटी’ सार्वजनिक भएपछि चर्चाको शिखरमा पुग्यो। गुगलको जेमिनाई र च्याटजीपीटी जस्ता एआई च्याटबटहरूको उदयले गुगल सर्चदेखि इन्स्टाग्राम र अमेजनसम्मका अनलाइन सेवाहरूलाई बदल्न थालिसकेको छ।

तर, सन् २०२५ त्यो वर्ष बन्यो, जतिखेर एआई हाम्रा स्क्रिनहरूबाट बाहिर निस्केर राष्ट्रिय नीति, विश्व व्यापार सम्बन्ध र सेयर बजारमा गम्भीर प्रभाव पार्न थाल्यो। यसले हाम्रो जागिर, कक्षाकोठा र सम्बन्धहरूमा यो प्रविधि कति विश्वासयोग्य छ भन्ने गम्भीर प्रश्नहरू पनि खडा गरेको छ। यो क्रम सन् २०२६ मा पनि जारी रहने अपेक्षा गरिएको छ।

स्ट्यानफोर्ड इन्स्टिच्युट फर ह्युमन-सेन्टर्ड एआईका सह-निर्देशक जेम्स ल्यान्डे भन्छन्, ‘विगतका वर्षहरूमा एआई एउटा ‘चम्किलो नयाँ खेलौना’ जस्तो थियो… तर गएको वर्ष यसको धेरै गम्भीर प्रयोगहरू भए। मलाई लाग्छ मानिसहरू अब यसका फाइदा र जोखिम दुवै बुझ्न थालेका छन्।’

नियमन र मानसिक स्वास्थ्यका प्रश्नहरू

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एआईका ठूला समर्थक हुन्। उनको दोस्रो कार्यकालमा यो प्रविधि आधारस्तम्भ बनेको छ। चिप निर्माता कम्पनी एनभिडियाका सीईओ ट्रम्पको भित्री घेरामा छन् भने राष्ट्रपतिले चीनसँगको व्यापार युद्धमा एआई प्रोसेसरहरूलाई हतियारको रूपमा प्रयोग गरिरहेका छन्।

ट्रम्पले एआईसम्बन्धी नियमन खुकुलो बनाउने र सरकारमा यसको प्रयोग बढाउने योजना अघि सारेका छन्। तर, राज्यहरूले आफ्नै एआई नियम लागू गर्न नपाउने गरी ल्याइएको कार्यकारी आदेशले विवाद निम्त्याएको छ। सिलिकन भ्यालीका लागि यो जित जस्तो देखिए पनि अनलाइन सुरक्षाका पक्षधरहरूले यसले जोखिम बढाउने चिन्ता व्यक्त गरेका छन्। सन् २०२६ मा यस विषयमा कानुनी लडाइँ हुने सम्भावना छ।

अर्कोतर्फ, एआईको फितलो नियमनले मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ। च्याटजीपीटी र क्यारेक्टर डट एआईजस्ता प्लेटफर्मका कारण किशोरकिशोरीमा आत्महत्या र मानसिक समस्या बढेको भन्दै थुप्रै मुद्दाहरू दायर भएका छन्।

एक १६ वर्षीय किशोर एडम रेनले आत्महत्या गर्नुअघि च्याटजीपीटीसँगको कुराकानीमा एआईले उनलाई प्रोत्साहन गरेको आरोपसहित उनका अभिभावकले ओपनएआईविरुद्ध मुद्दा दायर गरेका थिए। त्यसयता कम्पनीहरूले ‘प्यारेन्टल कन्ट्रोल’ जस्ता सुरक्षा उपायहरू अपनाउन थालेका छन्। तर, यो समस्या वयस्कहरूमा पनि देखिन थालेको छ। धेरैले एआईसँगको कुराकानीलाई नै वास्तविकता मान्न थाल्दा समाजबाट एक्लिने र भ्रममा पर्ने समस्या बढेको छ।

मनोचिकित्सक मार्लिन वेई भन्छिन्, ‘मानिसहरू भावनात्मक सहयोगका लागि सबैभन्दा पहिले एआई च्याटबटमा निर्भर हुन थालेका छन्, जसले भविष्यमा मानसिक स्वास्थ्य जोखिम अझ बढाउनेछ।’

‘पानीको फोका’ बन्ने त्रास

डाटा सेन्टर र एआई पूर्वाधारमा अर्बौं डलर लगानी भइरहेको छ। मेटा, माइक्रोसफ्ट र अमेजनले ठूलो पुँजी खर्च गरेका छन्। म्याकिन्जी एन्ड कम्पनीका अनुसार सन् २०३० सम्म विश्वव्यापी रूपमा डाटा सेन्टरमा करिब ७ ट्रिलियन डलर लगानी हुने अनुमान छ।

यो असीमित खर्चले वाल स्ट्रिट र उपभोक्ता दुवैलाई चिन्तित बनाएको छ। कतिपय कम्पनीको सेयर मूल्य आकासिए पनि एआईको वास्तविक मूल्यभन्दा प्रचार र खर्च बढी भएको आशंका गरिएको छ।

बेन क्यापिटलकी क्रिस्टिना मेलास–किरियाजीका अनुसार नयाँ प्रविधिमा सुरुमा अत्यधिक लगानी हुनु सामान्य हो, तर बजारमा कुनै बिन्दुमा गएर ‘करेक्सन’ (सुधार) आउन सक्छ। सन् २०२६ मा लगानीकर्ताहरू यसबाट सिर्जना हुने उतारचढावका लागि तयार हुनुपर्ने देखिन्छ।

रोजगारीमा कटौती

यस वर्ष एआईका कारण प्रविधि क्षेत्रमा हजारौंले जागिर गुमाए। माइक्रोसफ्ट, अमेजन र मेटाले एआईलाई प्राथमिकता दिँदै कर्मचारी कटौती गरे। अमेजनले अक्टोबरमा मात्र १४,००० कर्पोरेट कर्मचारीलाई बिदा गर्‍यो।

कतिपयले एआईले थप रोजगारी कटौती गर्ने बताउँछन् भने कतिपयले नयाँ अवसर सिर्जना गर्ने तर्क गर्छन्। तर, एउटा कुरा निश्चित छ– परिवर्तन आउँदैछ।

लिंक्डइनका प्रधान सम्पादक ड्यान रोथ भन्छन्, ‘यो वर्ष हामीले देख्यौं कि जागिर खानका लागि आवश्यक सीपको माग पूर्ण रूपमा परिवर्तन भइसकेको छ। र, अर्को वर्ष यो गति अझ तीव्र हुनेछ।’