टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै



काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो तेश्रो खेलमा वेस्ट इन्डिजसँग खेल्दैछ ।

खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि शुरु हुनेछ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो ।

नेपालले समूह चरणको आफ्नो अन्तिम खेल पर्सि मङ्गलवार स्कटल्याण्डसँग खेल्नेछ । समूह चरणमा लगातार दुई हार बेहोरेपछि नेपाली क्रिकेट टोलीको विश्वकप यात्रा सुखद हुन सकेन ।

नेपाली टोली समूह चरणबाटै बाहिरिने संघारमा छ । कुनै पनि अङ्क जोड्न नसकेको नेपाल समूह ‘सी’को अङ्क तालिकामा पुछारमा छ ।

लगातार २ खेलमा जीत निकालेको वेस्ट इन्डिज शीर्ष स्थानमा छ ।

यस्तै आजै दिउँसो ३ बजे भारतको चेन्नईमा नामिबिया र अमेरिकाले खेल्दैछन् ।

आजै बेलुका सवा ७ बजे आयोजक भारत र पाकिस्तानबीच खेल हुनेछ । यो खेल श्रीलङ्काको कोलम्बोमा हुनेछ ।

लगातार दई खेल जितेका दुवै टोलीको समान ४ अङ्कसहित भारत शीर्ष र पाकिस्तान दोश्रो स्थानमा छ ।

यसअघि हिजो भएका खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ७ विकेटले, इंग्ल्याण्डले स्कटल्याण्डलाई ५ विकेटले र आयरल्याण्डले ओमानलाई ९६ रनले हराएको छ ।