काठमाडौं । आइसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा घरेलु टोली भारतमाथि दक्षिण अफ्रिकाले ७६ रनको सानदार जीत निकालेको छ ।
हिजो भारतको अहमदाबादमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको भारत १८ ओभर ५ बलमा १११ रनमै अलआउट भयो । भारतका लागि शिवम दुबेले ४२ रन जोडेका थिए । बलिङमा दक्षिण अफ्रिकाका मार्को यान्सेनले ४ विकेट लिए भने केशव महाराजको नाममा ३ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका डेभिड मिलरले ३५ बलमा ६३ रन र डेवाल्ड ब्रेभिसले ४५ रन जोडे । बलिङतर्फ भारतका जसप्रित बुमराहले ३ विकेट तथा अर्शदीप सिंहले २ विकेट लिए ।
यस्तै, विश्वकप सुपर–८ अन्तर्गत हिजै भएको पहिलो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको छ । पल्लेकेले मैदानमा इंग्ल्यान्डले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलंका ९५ रनमै अलआउट भयो । विश्वकपमा यो सबैभन्दा कम रन हो ।
यसअघि समूह चरणमा पाकिस्तानविरुद्ध नामिबिया ९७ रनमा समेटिएको थियो । श्रीलंकाका लागि कप्तान दासुन शनाकाले सबैभन्दा बढी ३० रन जोड्दा अन्य ब्याटर सस्तैमा आउट भए । इंग्ल्यान्डका विल ज्याक्सले ३ विकेट लिए भने अदिल रशिद र लियाम डसनले २–२ विकेट लिए ।
त्यसअघि टस जितेको श्रीलंकाले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । जसमा ओपनर फिल साल्टले ४० बलमा ६२ रन बनाए भने विल ज्याक्सले २१ रन जोडे ।
बलिङमा श्रीलंकाका दुनिथ वेलालागेले ३ विकेट लिएका थिए । विश्वकपमा आज बेलुकी सवा ७ बजे मुम्बईको वानखेड़े स्टेडियममा सुपर–८ अन्तर्गत जिम्बावे र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया