काठमाडौं । इंग्ल्यान्ड टी–२० विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुपर आठ अन्तर्गतको खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश गरेको हो ।
यसअघि श्रीलंकालाई ५१ रनले हराएको इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने पहिलो टोलि बन्यो ।
१६५ रनको लक्ष्य इंग्ल्यान्डले १९.१ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।इंग्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रुकले शतकीय पारी खेले । ५० बल खेलेका उनले १० चौका र ४ छक्काको मद्दतले १०० रन जोडे । यस्तै, विल ज्याक्सले २६, साम करनले १६ रन जोडे ।
बलिङतर्फ पाकिस्तानका शाहिन साह अफ्रिदीले चार विकेट लिए । उस्मान तारिकले र मोहम्मद नवाजले दुई दुई विकेट लिए ।
त्यसअघि श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनायो । ओपनर साहिबजादा फरहानले ६३ रनको उत्कृष्ट पारी खेले । साथै बाबर आजम र फखर जमानले समान २५–२५ रनको योगदान दिए । सादाब खानले २३ रन बनाए ।
इंग्ल्यान्डका लागि लियाम डासनले ३ विकेट लिए । जोफ्रा आर्चर र जेमी ओभरटनले समान २–२ विकेट लिए । आदिल रशीदले १ विकेट लिए । एक ब्याटर रनआउट भए ।


प्रतिक्रिया