स्थिरताको आशा बोकेर भोट हाल्न घर फर्कँदै प्रवासी

स्थिरताको आशा बोकेर भोट हाल्न घर फर्कँदै प्रवासी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । आसन्न २१ फागुनको निर्वाचनका लागि मतदान गर्न प्रवासमा रहेका नेपालीहरू स्वदेश फर्कने क्रम तीव्र बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पूर्व र पश्चिमका प्रमुख सीमानाकासम्म अहिले घर फर्कने नेपालीको बाक्लो लर्को देखिन्छ । काँधमा झिटीगुन्टा र मनमा ‘अब त देशमै केही होला कि’ भन्ने मधुरो आशा बोकेर उनीहरू मतदानका लागि आइपुगेका हुन् ।

निर्वाचन आउन एक साता मात्र बाँकी रहँदा मुलुकका नाकाहरूमा दसैँ-तिहारको जस्तै रौनक छ । सुदूरपश्चिमका धनगढीस्थित त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका मात्र होइन, पूर्वको झापास्थित काँकडभिट्टा, विरगञ्ज र लुम्बिनीको बेलहिया नाकाबाट पनि दैनिक हजारौँ नेपाली भित्रिरहेका छन् । यता काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जापान, युके, युरोप र खाडी मुलुकबाट चुनावकै लागि छुट्टी मिलाएर आउनेहरूको चाप बढेको छ । ती सबैको एउटै साझा सपना छ- ‘अब बन्ने सरकारले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरोस् र आगामी सन्ततिले अर्काको देशमा पसिना बगाउनु नपरोस् ।’

गत २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलनपछि देशको राजनीतिक र सामाजिक परिस्थिति फेरिएको बुझाइ प्रवासी नेपालीमा छ । सोही आन्दोलनले स्थापित दल र नेताहरूलाई सच्चिन दबाब दिएको र यसपालिको निर्वाचनले नयाँ बाटो लिने विश्वासमा धेरै युवा मतदाता तानिएका छन् ।

बझाङका २२ वर्षीय सुनील बोहरा, जो १५ वर्षकै उमेरमा गरिबीका कारण भारत पसेका थिए, उनी भन्छन्, ‘देशमा केही परिवर्तन होला कि भनेर दुई हप्ताको छुट्टी लिएर आएको हुँ । पार्टीभन्दा पनि काम गर्न सक्ने मान्छेलाई भोट दिन्छु । हामीजस्ता युवाले सामान्य कामका लागि अर्काको देश जान नपरोस्, सरकारले क्षमताअनुसार यहीँ काम देओस् ।’

पश्चिमी नाका त्रिनगरमा भेटिएका सुरक्षाकर्मीका अनुसार दैनिक दुई हजारको हाराहारीमा नेपाली स्वदेश भित्रिरहेका छन् । तीमध्ये अधिकांश भारतका मुम्बई, केरला, पुना र गोरखपुर जस्ता सहरमा कुक, सुरक्षा गार्ड र मजदुरी गर्नेहरू छन् । यस्तै दृश्य पूर्वको काँकडभिट्टा नाकामा पनि देखिन्छ, जहाँ दार्जिलिङ, सिक्किम र सिलिगुढीमा श्रम गरिरहेका नेपालीहरू समूह-समूह बनाएर भित्रिरहेका छन् । अछामका झुमाकान्त ढुंगाना २० महिनापछि पुनाबाट २० जना साथीको समूह लिएर भोट हाल्न आइपुगेका छन् । ‘यतिका वर्ष भोट दियौँ, पुरानाले आश्वासन मात्र दिए । नयाँले केही गर्छन् कि भन्ने झिनो आशा छ,’ ढुंगानाले भने, ‘भ्रष्टाचार अन्त्य होस् र न्यून तलब भए पनि यहीँ काम पाइयोस् ।’

सीमा नाका मात्र होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘एराइभल’ गेटमा पनि यस्तै दृश्य देखिन्छ । कतार र मलेसियाबाट फर्किएका युवाहरू देशको बिग्रँदो आर्थिक अवस्था र बेरोजगारीप्रति चिन्तित त छन्, तर निर्वाचनले केही परिवर्तन ल्याउनेमा आशावादी पनि छन् । ‘हामीले पठाएको रेमिट्यान्सले देश चलेको छ, तर हाम्रो भविष्यको ग्यारेन्टी कसले गर्ने ?’ मलेसियाबाट फर्किएका एक युवाले प्रश्न गरे ।

निर्वाचनको मुखमा स्वदेश फर्कनेको लर्को लागे पनि देशको आर्थिक र सामाजिक अवस्था भने अझै चुनौतीपूर्ण छ । काम गर्ने उमेरका युवाहरू घरमा नहुँदा गाउँहरू बुढाबुढी र बालबालिकाको जिम्मामा छन् । यद्यपि, चुनावको बेला भने दलका उम्मेदवारहरूले तिनै प्रवासीलाई घर फर्काउन लुकिछिपी समन्वय गरिरहेका छन् ।

एकातिर मतदानका लागि हजारौँ नेपाली भित्रिरहेका छन् भने अर्कोतिर दैनिक सयौँ नेपाली रोजगारीकै खोजीमा बाहिरिइरहेका छन् । त्रिनगर र काँकडभिट्टा जस्ता नाकाबाट दैनिक सयौँ युवाहरू चुनावको वास्ता नगरी छाक टार्न भारततर्फ गइरहेका छन् । गृह मन्त्रालयले भने निर्वाचनका लागि घर फर्कने नेपालीलाई नाकामा सहजीकरण गर्न सशस्त्र प्रहरीलाई विशेष निर्देशन दिएको छ ।

मतदाताको सन्देश: अब त बदलियोस् अवस्था
हरेक चुनावमा राजनीतिक दलहरूले ‘गरिबी निवारण र रोजगारी’ लाई चुनावी घोषणापत्रको मुख्य बुँदा बनाउँछन् । तर, व्यवहारमा परिवर्तन नहुँदा नागरिकमा निराशा व्याप्त छ । यसपालिको २१ फागुनको निर्वाचनलाई प्रवासी नेपालीले केवल एउटा प्रक्रियाका रूपमा मात्र होइन, आफ्नो बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने ‘अन्तिम मौका’ का रूपमा हेरेका छन् । के अब बन्ने सरकारले यी झिटीगुन्टा बोकेर आएका आशावादी आँखाहरूलाई न्याय देला ? यो नै अहिलेको मुख्य प्रश्न हो ।