इरानद्वारा इजरायलमाथि प्रत्याक्रमण सुरु, मिसाइल र ड्रोन वर्षा

इरानद्वारा इजरायलमाथि प्रत्याक्रमण सुरु, मिसाइल र ड्रोन वर्षा



तेहरान । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका विभिन्न सैन्य अखडामा भीषण बमबारी गरेपछि इरानले पनि इजरायलमाथि प्रत्याक्रमण सुरु गरेको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले शत्रु र अपराधी शत्रुको आक्रामकताको जवाफ दिन इजरायली कब्जामा रहेका क्षेत्रहरू तर्फ मिसाइल र ड्रोनको पहिलो लहर प्रहार गरिएको पुष्टि गरेको छ । इरानले आफ्नो सार्वभौमसत्तामाथि भएको हमलाको बदला लिन यो कदम चालिएको बताएपछि मध्यपूर्वमा पूर्ण स्तरको महायुद्ध सुरु हुने जोखिम बढेको छ ।

यसैबिच इरानको राजधानी तेहरानसहितका प्रमुख सहरहरूमा पुनः शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् । इरानी समाचार एजेन्सी तास्निमका अनुसार तेहरानमा दुई वा सोभन्दा बढी ठूला विस्फोट भएका छन् भने इलम सहरका पश्चिमी र दक्षिणी भेगमा पनि धमाका सुनिएका छन् ।

तेहरानको केन्द्र भाग र अन्य इलाकामा इरानी वायु रक्षा प्रणालीले शत्रुको निशानालाई आकाशमै रोक्ने प्रयास गरिरहेका छन् । तेहरानका मन्त्रालयहरू र सैन्य परिसर रहेका क्षेत्रमा मिसाइलहरू खसेका छन् भने केर्मानशाह, लोरेस्तान, ताब्रिज, इस्फाहान र कारज जस्ता सहरहरूबाट पनि विस्फोटका रिपोर्टहरू आइरहेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमाथिको आक्रमण आफ्नो देशको अस्तित्वमाथिको खतरा हटाउन अनिवार्य रहेको बताएका छन् । उनले अमेरिका र इजरायलको यो संयुक्त कदमले बहादुर इरानी जनतालाई आफ्नो भाग्य आफैं निर्धारण गर्ने वातावरण बनाइदिने दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ऐतिहासिक नेतृत्वको प्रशंसा गरेका छन् ।

इजरायलले इरानबाट मिसाइल प्रहार भएपछि देशभर चेतावनीका साइरनहरू बजाएको छ र नागरिकहरूलाई सुरक्षित सेल्टर नजिकै बस्न निर्देशन दिँदै देशभर संकटकाल घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनको खतरा समाप्त पार्न इरानमा ‘ठूलो युद्ध अभियान’ सुरु भएको घोषणा गरेका छन् । एक अमेरिकी अधिकारीले अल जजिरालाई बताएअनुसार यो संयुक्त हवाई आक्रमणको मुख्य उद्देश्य इरानको सुरक्षा संयन्त्र र सैन्य संचरनालाई ध्वस्त पार्नु हो ।