इरानी आक्रमणको जवाफ दिने पूर्ण अधिकार छ : युएई

इरानी आक्रमणको जवाफ दिने पूर्ण अधिकार छ : युएई



आबुधाबी । संयुक्त अरब इमिरेट्सले इरानबाट हानिएका ब्यालेस्टिक मिसाइलहरूले देशलाई लक्षित गरेको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार वायु प्रतिरक्षाले तीमध्ये धेरै मिसाइल सफलतापूर्वक अवरोध गरेको छ ।

सरकारी वक्तव्यअनुसार अवरोधपछि खसेका छर्राले आबुधाबीको एक आवासीय क्षेत्रमा भौतिक क्षति पुर्‍याउनुका साथै एसियाली मूलका एक व्यक्तिको मृत्यु भएको छ ।

मन्त्रालयले उक्त आक्रमणको कडा शब्दमा निन्दा गर्दै नागरिक संरचना, सुविधा र राष्ट्रिय संस्थामाथि लक्षित गर्नु पूर्ण रूपमा अस्वीकार्य रहेको जनाएको छ । ‘यस्ता कार्य खतरनाक रूपमा तनाव बढाउने र नागरिकको सुरक्षा तथा स्थिरतालाई कमजोर पार्ने कायरतापूर्ण कदम हुन,’ वक्तव्यमा भनिएको छ ।

युएईले यस घटनालाई राष्ट्रिय सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन ठहर गर्दै आवश्यक सबै उपाय अपनाएर आफ्नो भूभाग जोगाउने र प्रतिकार गर्ने पूर्ण अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ । देश कुनै पनि खतरा सामना गर्न पूर्ण रूपमा तयार रहेको पनि मन्त्रालयले जनाएको छ ।