इरानी सर्वोच्च नेता र रक्षा मन्त्रीसहित ४० उच्च अधिकारी मारिएको दाबी

इरानी सर्वोच्च नेता र रक्षा मन्त्रीसहित ४० उच्च अधिकारी मारिएको दाबी

इरानमा कम्तिमा १३३ नागरिकको मृत्यु



तेहरान । इरानमा भएका पछिल्ला आक्रमणहरूमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित करिब ४० जना उच्च पदस्थ इरानी अधिकारीहरू मारिएको बीबीसीको सञ्चार साझेदार संस्था ‘सिबिएस न्युज’ ले दाबी गरेको छ ।

गुप्तचर र सैन्य स्रोतहरूलाई उद्धृत गर्दै सिबिएसले जनाए अनुसार मारिनेहरूमा इरानको शक्तिशाली सैन्य संगठन ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’का कमाण्डर र देशका रक्षा मन्त्री समेत रहेका छन् ।

विश्वभर इरानी सर्वोच्च नेता खामेनीको मृत्युका समाचारहरू व्यापक रूपमा फैलिरहेका भए पनि इरान सरकारले भने यसको आधिकारिक पुष्टि गर्न बाँकी नै छ ।

इरानी सरकारी सञ्चारमाध्यम र अधिकारीहरूले यसअघि यस्ता समाचारहरूलाई ‘शत्रुको मनोवैज्ञानिक प्रचार’ भन्दै खण्डन गर्दै आएका छन् । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने आफ्ना स्रोतका आधारमा खामेनीको मृत्यु भइसकेको दाबी गरिरहेका छन् ।

इरानमा कम्तिमा १३३ नागरिकको मृत्यु

अमेरिका र इसराइलको आक्रमणबाट इरानमा कम्तिमा १३३ जना नागरिकको मृत्यु भएको छ ।

इरानमा मानवअधिकारसँग सम्बन्धित अमेरिकी समाचार संस्था एचआरएएनएकाले कम्तिमा १३३ जना मारिएको र २०० भन्दा बढी घाइते भएको जनाएको छ ।