काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्टले आज (आइतबार)देखि आइपिओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रूपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रूपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये १० करोड ४० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।
सोमध्ये ५ लाख २० हजार कित्ता सेयर आयोजनाको अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरूमा बाँडफाँट गरिनेछ भने ३ लाख १२ हजार कित्ता सुलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ र ११ का स्थायी बासिन्दा र २ लाख ८ हजार कित्ता सेयर सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रहरूका स्थायी बासिन्दाहरूमा बाँडफाँट गरिनेछ ।
साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ५ लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका १ लाख ४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो ।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया