शेयर बजार ६४ अंकले बढ्यो, २१ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

शेयर बजार ६४ अंकले बढ्यो, २१ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार



काठमाडौं । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६४ दशमलव ६७ अङ्कले बढेर २ हजार ८७७ दशमलव ०२ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर सबैभन्दा धेरै ३ दशमलव ९५ प्रतिशतले उकालो लागेको छ । आज २४० वटा कम्पनीको शेयर बढेकोमा २२ वटाको घटेको छ । यस्तै २ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज कर्पाेरेट विकास बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर सबैभन्दा धेरै ५ दशमलव १२ प्रतिशतले ओरालो लागेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो १२ अर्ब ३ करोडको कारोबार भएकोमा आज ३४२ वटा कम्पनीका ५ करोड ६९ लाख कित्ता शेयर २१ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।