आर्मीलाई हराउँदै पुलिसले लगातार दोस्रो पटक जित्यो जय ट्रफी क्रिकेटको उपाधि

आर्मीलाई हराउँदै पुलिसले लगातार दोस्रो पटक जित्यो जय ट्रफी क्रिकेटको उपाधि



काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक जय ट्रफी एलिट कप क्रिकेटको उपाधि जितेको छ ।

आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले खेलको तेस्रो तथा अन्तिम दिन ६ विकेट गुमाएर भेटायो । पुलिसका रशिद खानले ८१, कुशल भुर्तेलले ५१ रन बनाए । आर्मीका शाहब आलम र पवन कार्कीले २/२ विकेट लिए ।

दोस्रो पारीमा आर्मीले २२६ रन बनाएको थियो । आर्मीका आकाश चन्दले ३७, कुशल मल्लले ३६, शाहब आलमले ३३, भीम सार्कीले ३२ रन बनाएका थिए । पुलिसका सागर ढकालले ४ तथा करण केसी र ललित राजवंशीले ३/३ विकेट लिएका थिए ।

यसअघि मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको आर्मीले पहिलो पारीमा २२१ रन बनाएको थियो । आर्मीका इमरान शेखले ५० रन बनाएका थिए । पुलिसका रशिद खानले ४ तथा करण केसी र ललित राजवंशीले ३/३ विकेट लिएका थिए ।

पुलिसले पनि पहिलो पारीमा २२१ रन बनाएको थियो । पुलिसका करण केसीले नटआउट ७२ रन बनाएका थिए । आर्मीका सोमपाल कामीले ५ विकेट लिएका थिएका थिए ।

चार वटा टोली सहभागी प्रतियोगितामा सिङ्गल राउन्ड रोबिनको खेलपछि आर्मी र पुलिस शीर्ष दुईमा रहँदै फाइनलमा पुगेका थिए । लिग चरणको खेल दुई दिनको भएको थियो ।

अघिल्लो संस्करणको फाइनलमा पनि पुलिसले आर्मीलाई हराउँदै उपाधि जितेको थियो ।