अर्जुन कुमाल बने पीएम कपको एकै संस्करणमा ५०० रन पूरा गर्ने पहिलो खेलाडी

अर्जुन कुमाल बने पीएम कपको एकै संस्करणमा ५०० रन पूरा गर्ने पहिलो खेलाडी



काठमाडौं । गण्डकी प्रदेशका ओपनर अर्जुन कुमाल प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको एकै संस्करणमा ५०० रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

वीरगञ्जमा आज भएको कर्णाली प्रदेशसँगको खेलमा २० वर्षीय कुमालले ६ रन जाेड्दै यो उपलब्धि हासिल गरेका हुन् । उनले ९ खेलमा २ शतक र २ अर्धशतकसहित ५०४ रन बनाएका छन् ।

यसअघि सन् २०२३–२०२४ को संस्करणमा मधेश प्रदेशका अनिलकुमार साहले ९ खेलमा ३८६ रन बनाएका थिए ।

उमेर समूहका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियाेगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका कुमालले राष्ट्रिय टाेलीबाट कहिले डेब्यु गर्छन् भन्ने चासाे बढ्दै गएकाे छ ।

यसैबीच आजको खेलमा गण्डकीले कर्णालीलाई ९ विकेटले हराएको छ । कर्णालीले दिएको ७३ रनको लक्ष्य गण्डकीले १३ ओभरमा १ विकेट गुमाएर भेटायो । गण्डकीका सिब्रिन श्रेष्ठले नटआउट ४० रन बनाए । कर्णालीका विपिन शर्माले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कर्णाली २५ ओभर २ बलमा ७२ रनमा अलआउट भयो । कर्णालीका प्रकाश जैशीले सबैभन्दा धेरै नटआउट १५ रन बनाए । गण्डकीका कप्तान विपिन खत्रीले ५ विकेट लिए । यो जीतसँगै गण्डकी ९ खेलमा ९ अङ्कसहित तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । कर्णाली ९ खेलमा ३ अङ्कसहित नवौँ स्थानमा छ ।

यस्तै अहिले जनकपुरमा लुम्बिनी प्रदेश र बागमती प्रदेशबीचकाे खेल चलिरहेकाे छ ।