काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताय योङबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार गृह मन्त्रालयमा भएकाे भेटमा राजदूत योङले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिए ।
सो अवसरमा नेपाल–कोरियाबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, कोरिया सरकारले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्याउँदै आएको निरन्तर सहयोग तथा आगामी दिनमा दुईपक्षीय सहकार्यलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
भेटघाटका क्रममा गृहमन्त्री गुरुङले कोरियामा शिक्षा तथा रोजगारीका लागि जाने नेपालीको स्वास्थ्य, सुरक्षा र नेपाल फिर्तीका सम्बन्धमा कोरिया सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै आगामी दिनमा थप सहकार्यका लागि अनुरोध गरे ।
राजदूत याेङले नेपालीहरू अनुशासित एवम् मेहनती भएकाे र कोरियाली समाजमा सहज रूपमा समाहित भई आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याइरहेको उल्लेख गरे ।
भेटघाटका क्रममा गृह मन्त्री गुरुङले कोरिया सरकारको सहयोगमा साइबर व्यूरोलाई भौतिक पूर्वाधार र साधनस्रोत सम्पन्न बनाउने कार्य अन्तिम चरणमा रहेकोमा कोरिया सरकारलाई धन्यवाद दिए ।
साथै, गृहमन्त्री गुरुङले भीड नियन्त्रण तथा आमनागरिकको सुरक्षाका लागि नेपाल प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक पर्ने सुरक्षा सामग्री एवं उपकरणको व्यवस्था गर्न दुई देशका सरकारबीच सहकार्यका लागि प्रस्ताव गरे ।


प्रतिक्रिया