वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली

वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली



काठमाडौं । संस्थागत निर्णयबिना नै वामपन्थी एकताको चर्चा सुरु भएको भन्दै एमाले नेता प्रदीप ज्ञवालीले अहिलेको खाँचो आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने भएको उल्लेख गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटपछि व्यापक बनेको वामपन्थी एकताको चर्चापछि ज्ञवालीले सामाजिक सञ्जालमा टिप्पणी गर्दै उक्त विषय राखेका हुन् ।

आजको चुनौती वामपन्थी या कम्युनिष्ट आन्दोलनको दायरामा मात्र सीमित नभएको भन्दै उनले लेखेका छन्, ‘नेपालले लामो प्रयत्नपश्चात् आर्जेको प्रगतिशील लोकतान्त्रिक स्पेस नै साँघुरिँदै गएर सर्वसत्तावादी शासकीय शैलीतिर उन्मुख हुँदै गरेको, सामाजिक सुरक्षा र न्यायसहितको लोककल्याणकारी आर्थिक प्रणाली होइन, नवउदारवादी बजार स्वच्छन्दतातिर आर्थिक दिशा सोझिँदै गरेको र स्थापित विधि, कानूनी प्रणाली र लोकतान्त्रिक संस्थाहरूको ठाउँमा ‘तिलस्मी नायक’ हरूले जादुमयी ढङ्गले सुनौला दिन ल्याइदिने विभ्रमले समाजको ठूलै हिस्सा प्रभावित भएको समयमा हामी छौँ ।’

प्रदीप ज्ञवालीकाे पाेष्ट

कुनै संस्थागत निर्णय भएको थाहा छैन, तर मिडियातिर ‘वामपन्थी एकता’ को चर्चा सुरू भएछ । पहिलो त, आजको चुनौती वामपन्थी या कम्युनिस्ट आन्दोलनको दायरामा मात्र सीमित छैन । नेपालले लामो प्रयत्नपश्चात् आर्जेको प्रगतिशील लोकतान्त्रिक स्पेस नै साँघुरिँदै गएर सर्वसत्तावादी शासकीय शैलीतिर उन्मुख हुँदै गरेको, सामाजिक सुरक्षा र न्यायसहितको लोककल्याणकारी आर्थिक प्रणाली होइन, नवउदारवादी बजार स्वच्छन्दतातिर आर्थिक दिशा सोझिँदै गरेको र स्थापित विधि, कानूनी प्रणाली र लोकतान्त्रिक संस्थाहरूको ठाउँमा ‘तिलस्मी नायक’ हरूले जादुमयी ढङ्गले सुनौला दिन ल्याइदिने विभ्रमले समाजको ठूलै हिस्सा प्रभावित भएको समयमा हामी छौँ । त्यसैले सङ्कटलाई फराकिलो क्यानभासमा राखेर हेरिनुपर्छ र तदनुरूपकै नीति अवलम्बन गरिनु पर्छ ।

अर्को, यतिबेला वामपन्थीहरूसहित सबै पार्टीहरू समीक्षाको प्रक्रियामा छन् । धक्का एमालेले पनि खाएको छ, दर्जन बढी समूह ‘एकीकृत’ गरेर बनेको नेकपाले पनि । ‘विद्रोह’ गरेर बनेका संयुक्त या प्रलोपाहरूले पनि । समस्या एउटै छैन र समाधानको रेसिपी पनि एउटै हुन सक्दैन ।

स्तो अवस्थामा पहिलो कदम भनेकै सङ्कटको गाम्भीर्यबोध, निर्मम आत्मसमीक्षा र व्यापक सुधार, पुनर्गठनको विधिवत् प्रक्रिया अगाडि बढाउनु हो । पहिले आफू तङ्ग्रिएपछि मात्रै सार्थक विमर्श र विषयगत सहकार्यको अर्थ हुनसक्छ । अन्यथा यस्ता छलफल या त बौद्धिक विलासितामा सीमित हुन्छन्, या आफ्नो घरभित्रका समस्या छिमेकतिर सारिदिने दाउपेचमा रूपान्तरित हुन जान्छन् । अहिलेको खाँचो आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने हो ।