काठमाडौं । संघीय संसदअन्तर्गतका १२ वटा संसदीय समितिका सभापतिले शपथ ग्रहण गरेका छन् । शुक्रबार भएको निर्वाचनबाट १० वटा समितिमा सर्वसम्मत सभापति चयन भएका हुन् । दुईवटामा भने निर्वाचन भएको थियो ।
नवनिर्वाचित सबै सभापतिहरूको शपथ शुक्रबार भएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल सर्वसम्मत निर्वाचन भए । कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा सर्वसम्मत निर्वाचित भएकी छन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा रास्वपाका अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा रास्वपाका आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा रास्वपाकी आकृति अवस्थी सर्वसम्मत निर्वाचित भए ।
संसदीय सुनुवाइ समिति सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाकै रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा रास्वपाका सुम्निमा उदास र अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी पनि सर्वसम्मत निर्वाचित भए ।
सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का पनि सर्वसम्मत निर्वाचित भए । रास्वपाको समर्थन पाएका खड्काले पाएपछि यो समिति सभापतिमा एकल उम्मेदवारी परेको थियो ।
बाँकी दुई वटा समिति सभापतिका लागि भने एकभन्दा बढी उम्मेदवारी परे्को थियो ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन सभापतिमा दुई जनाको उम्मेदवारी परेको थियो । रास्वपाका तर्फबाट गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मदन कुमारी शाह (गरिमा) को उम्मेदवारी दिएका हुन् । रास्वपाको स्पष्ट बहुमत भएकाले कार्की निर्वाचित भए ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा पनि दुई जनाको उम्मेदवारी परेको थियो । यो समिति सभापतिमा रास्वपाकी ओजस्वी शेरचन र नेकपा एमालेका गुरुप्रसाद बरालको उम्मेदवारी परेको थियो । यसमा पनि रास्वपाको स्पष्ट बहुमत भएकाले रास्वपाकी शेरचन निर्वाचित भइन् ।


प्रतिक्रिया