चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डिएनए’ नमुना संकलन र पहिचान गर्ने काम भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्र भूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन् । तीमध्ये ३३३ शवको व्यवस्थापन गरिसकिएको छ भने १४ वटा शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ । शवहरूको वैज्ञानिक पहिचानका लागि यही भदौ १६ गतेदेखि डिएनए नमुना संकलन सुरु गरिएको थियो । यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका आफन्त ६८ जनाको डिएनए नमुना संकलन गरिएको छ ।
उनका अनुसार भदौ १६ गते सात पुरुषको नमुना संकलन गरिएको थियो । भदौ १७ गते २६ जनाको नमुना संकलन गरिएकोमा दुई महिला, २२ पुरुष र दुई पुरुष भारतीय नागरिक रहेका छन् । भदौ १८ गते २२ जनाको नमुना संकलन गरिएकामा चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष नागरिक छन् ।
यस्तै, भदौ १९ गते सात जनाको नमुना संकलन गरिएकामा एक महिला, चार पुरुष, एक बालक र एक भारतीय पुरुष नागरिक रहेका छन् । भदौ २० गते छ जनाको नमुना संकलन गरिएकामा दुई महिला, एक पुरुष र तीन बालक रहेका छन् । प्रहरी नायब उपरीक्षक यादवका अनुसार हाल पनि खोजी, शवहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण संकलन र अन्य समन्वयात्मक प्रक्रिया निरन्तर छ ।


प्रतिक्रिया