दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन

दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन


ग्लोब नेपाल
0
Shares

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ । रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर गएका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो फर्किएका हुन् ।

तिलिजालाई परिवारले जीवित छन् भन्ने आशासमेत गुमाइसकेको थियो । उनको फोटोसमेत परिवारसँग थिएन । खोजी गर्ने माध्यम नभएपछि परिवार र उनीबीचको सम्पर्क पूर्ण रूपमा टुटेको थियो । मणिपुरको जङ्गलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवानले तिलिजालाई भेटेपछि उनको घर फर्कने बाटो खुलेको हो ।

गत साउनमा मणिपुर पुगेका देवानलाई स्थानीय मणि तामाङले जङ्गलमा दुई वृद्ध दयनीय अवस्थामा बसिरहेको जानकारी गराए । देवानले तिलिजा र भोजपुरका वीरबहादुर राईको अवस्थाबारे श्रव्यदृश्य सामग्री बनाएर प्रशारण गरेका थिए । उक्त श्रव्यदृश्य सामग्रीपछि परिवारजनले उनीहरूको पहिचान गरी सम्पर्क गरेका थिए ।

“मणिपुर घुम्न जाने क्रममा जङ्गलमा दुई वृद्ध बसिरहेको जानकारी पाएँ । श्रव्यदृश्य सामग्री बनाएर सार्वजनिक गरेपछि परिवारजन सम्पर्कमा आउनुभयो”, देवानले भने, “राईलाई परिवारको जिम्मा लगाएपछि तिलिजालाई उपचार गराएर घरसम्म ल्याइदिएको हुँ ।”

निमोनियाबाट बिरामी तिलिजालाई देवानले धरानस्थित विजयपुर अस्पतालमा चार दिन भर्ना गरी उपचार गराएका थिए । स्वास्थ्यमा सुधार आएपछि परिवारको आग्रहमा उनलाई दग्नाम ल्याइएको हो । दग्नाम पुगेपछि तिलिजाका तीन भाइ, बुहारी र परिवारका सदस्यले उनलाई फूलमाला लगाएर स्वागत गरे ।

पाँच दशकभन्दा लामो समयपछि दाजुलाई देखेका भाइहरूले आफूहरुले खोजी गर्न नसकेको विगत सम्झिए । “एक दिन दाईसँग भेट अवश्य हुनेछ भन्ने लागेको थियो । अहिले भेट्न पाउँदा निकै खुसी लागेको छ”, तिलिजाका भाइ उदयचन्द्रले भने, “दाइको फोटो पनि हामीसँग थिएन । खोजी गर्न नसकेर अलमलमा बसेका थियौँ । उनलाई भेटाइदिएर घरसम्म ल्याइदिने देवानलाई धन्यवाद छ ।”

तिलिजा चार भाइमध्ये जेठा हुन् । उनका माइला भाइको निधन भइसकेको छ । साइँला उदयचन्द्र, काइँला जगतबहादुर र कान्छा हेमबहादुर दग्नाममै बस्दै आएका छन् । तिलिजा भने घरबाट निस्किएपछि लामो समय मणिपुरमै बसे । उनी भारतीय सेनामा भर्ती हुने उद्देश्यले आसाम राइफल्समा कार्यरत आफन्तको साथमा मणिपुर पुगेका थिए।

सेनामा भर्ती हुन नसकेपछि काठ काट्ने काम गर्न थाले । “परिवार र भाइहरूसँग सम्पर्क टुट्यो । पढाइलेखाइ नभएकाले चिठ्ठीपत्र पठाउन सकिनँ । पैसा नभएपछि घर फर्कन सकिनँ”, तिलिजाले भने । मणिपुरमै विवाह गरेका तिलिजाकी छोरीको सात महिनामै मृत्यु भएको थियो । त्यसको एक वर्षपछि श्रीमतीको पनि निधन भयो ।

लामो समयपछि घर फर्किँदा भने उनले जन्मथलोमा आफ्ना भाइ र आफन्तलाई भेट्न पाएका छन् । उमेर बढ्दै गएपछि काठ काट्ने काम गर्न नसकेपछि उनले साहुको बाख्रा चराएर जीवन गुजारा गर्दै आएका थिए ।

“परिवारसँग भेट्न पाएँ । जन्मथलोमा फर्किन पाउँदा खुसी लागेको छ”, तिलिजाले भनिन्, “बाँकी जीवन भाइ, परिवार र आफन्तजनसँग बिताउँछु ।” रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले ५८ वर्षपछि तिलिजा परिवारमा खुसी फर्किएको बताए ।

उजकाअनुसार तिलिजाका परिवारले लामो समयदेखि उनको खोजी गर्न सकेका थिएनन् । पाँच दशकभन्दा लामो समयपछि तिलिजा घर फर्किएसँगै दग्नामको एउटा परिवारले हराएको सदस्य पुनः पाएको छ ।