थुनुवा छुटाइदिने भन्दै १ लाख रुपैयाँ असुली, वडाध्यक्षविरुद्ध जाहेरी

थुनुवा छुटाइदिने भन्दै १ लाख रुपैयाँ असुली, वडाध्यक्षविरुद्ध जाहेरी


ग्लोब नेपाल
0
Shares

रौतहट । प्रहरीको नाम र पहुँचको दुरुपयोग गर्दै थुनुवालाई छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा रौतहटमा वडाध्यक्ष पदका एकजना प्रत्याशी पक्राउ परेका छन्।

गरुडा नगरपालिका–९ श्रीपुरका वडाध्यक्ष पदका प्रत्याशी शेख हुस्नैनलाई प्रहरीले थुनुवालाई छुटाइदिने तथा मुद्दा दर्ता हुन नदिने भन्दै रकम असुली गरेको आरोपमा पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले हुस्नैनलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार केही दिनअघि गरुडा–९ श्रीपुरमा अकबर मियाँ र उनका छोरा मेराज मियाँबीच झगडा हुँदा प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थलमा पुगेका प्रहरीलाई अकबर मियाँका भाइ रामजन मियाँले बर्दी च्यात्दै दुर्व्यवहार गरेको आरोप छ। त्यसपछि प्रहरीले रामजन मियाँलाई पक्राउ गरी उनीविरुद्ध मुद्दा चलाएको थियो।

रामजन पक्राउ परेपछि वडाध्यक्ष पदका प्रत्याशी शेख हुस्नैनले उनकी श्रीमतीसँग सम्पर्क गरी ‘प्रहरीसँग कुरा गरेर मुद्दा मिलाइदिने र थुनुवालाई छुटाइदिने’ भन्दै रकम मागेको आरोप लागेको हो।

पीडित पक्षका अनुसार हुस्नैनले यही आश्वासन दिएर १ लाख रुपैयाँ लिएका थिए। तर रकम दिएपछि पनि रामजन छुट्न नसकेपछि आफू ठगीमा परेको भन्दै उनकी श्रीमतीले प्रहरीमा जाहेरी दिएको प्रहरीले जनाएको छ।

जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले हुस्नैनलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यका अनुसार प्रहरीको नाम तथा पदको दुरुपयोग गरी रकम असुली गरेको आरोपमा हुस्नैनलाई पक्राउ गरिएको हो।

“प्रहरीको नाममा रकम असुली गर्ने कार्य गम्भीर विषय हो। पीडितको जाहेरीका आधारमा पक्राउ गरी जिल्ला अदालत गौरबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ,” डीएसपी आचार्यले बताएका छन्।

उनका अनुसार घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको छ। प्रहरीको नाम प्रयोग गरेर रकम असुली गरेको पुष्टि भए संलग्न सबैमाथि कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।

वर्तमान वडाध्यक्षमाथि पनि रकम असुलेको आरोप

यही घटनामा गरुडा नगरपालिका–९ का वर्तमान वडाध्यक्ष राजेश सहनीमाथि पनि थुनुवालाई छुटाइदिने भन्दै रकम असुली गरेको आरोप लागेको छ। पीडित पक्षले सहनीविरुद्ध समेत प्रहरीमा जाहेरी दिएको प्रहरीले जनाएको छ। डीएसपी आचार्यका अनुसार सहनीमाथि लागेको आरोपमाथि अनुसन्धान भइरहेको छ।

तर वडाध्यक्ष सहनीले भने आफूले रामजन मियाँलाई छुटाउन कसैसँग पनि पैसा नलिएको दाबी गरेका छन्। उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्।

प्रहरीको नाम बेचेर ‘सेटिङ’ मिलाउने धन्दा

थुनुवालाई छुटाइदिने, मुद्दा मिलाइदिने वा प्रहरीसँग ‘सेटिङ’ मिलाएर कारबाही रोकाइदिने भन्दै सर्वसाधारणबाट रकम असुल्ने प्रवृत्तिले प्रहरी संगठनकै विश्वसनीयतामाथि प्रश्न उठाउने गरेको छ।

यस घटनामा पनि प्रहरीको नाम लिएर रकम असुली गरिएको आरोपपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। डीएसपी आचार्यले प्रहरीको नाम र पदको दुरुपयोग गरी रकम असुली गर्ने जोसुकै भए पनि अनुसन्धान गरी कानुनी दायरामा ल्याइने स्पष्ट पारेका छन्।

हुस्नैन हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन्। उनीविरुद्ध दर्ता भएको ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आरोप पुष्टि हुन बाँकी रहेकाले अनुसन्धानको निष्कर्ष र अदालतको निर्णयअनुसार मात्र दोषी–निर्दोषको टुंगो लाग्नेछ।