काठमाडौं । काठमाडौंको चुच्चेपाटी र महाबौद्धबाट ठूलो परिमाणको विद्युतीय चुरोट (भेप)सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चुच्चेपाटीस्थित ‘रेसा कलेक्सन’को गोदामबाट २ हजार ६७० थान र महाबौद्धस्थित ‘आरएचएस इन्टरनेशनल प्रालि’बाट १०० थान गरी कुल २ हजार ७७० थान प्रतिबन्धित भेप बरामद गरेको छ।
अवैध रूपमा भेप भण्डारण तथा बिक्री वितरण गरेको आरोपमा धादिङका पूर्णलाल श्रेष्ठ, चन्द्रागिरिका शुभम गुप्ता, रामेछापका राजन मोक्तान र काभ्रेका सक्षम श्रेष्ठ पक्राउ परेका हुन्।
बरामद भेप र पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए।


प्रतिक्रिया