भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। भोटेकोशी बाढीमा बेपत्ता भएका पत्रकार टेकराज थामीको शनिवार पशुपति आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। तीन साताभन्दा लामो समयसम्म नेपाल र चीनतर्फ सम्भावित स्थानमा खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

चीनको केरुङमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा थामी भदौ ९ गते रसुवाको टिमुरे पुगेका थिए। त्यसको भोलिपल्ट बिहानदेखि उनी सम्पर्कविहीन भएका थिए। त्यसयता नेपालतर्फ भोटेकोशी आसपासका क्षेत्रमा तथा चीनतर्फ समेत उनको खोजी गरिएको थियो। तर लामो समयसम्म गरिएको खोजीबाट पनि उनको कुनै अत्तोपत्तो लाग्न सकेन।

खोजमूलक पत्रकारितामा सक्रिय थामी एक दशकभन्दा लामो समयदेखि ‘नयाँ पत्रिका’ दैनिकमा कार्यरत थिए। ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथ वेस्ट चाइना’को कार्यक्रममा सहभागी हुन केरुङतर्फ जाँदै गरेका थामीको यात्रा भोटेकोशीको बाढीसँगै रोकिएको थियो।

लामो समयसम्म फर्केर आउने आशा र खोजीको प्रतीक्षापछि परिवारले अन्ततः कुशको शव बनाएर अन्त्येष्टि गरेको हो। थामीको भौतिक शरीर फेला नपरे पनि परिवारजन, सहकर्मी र शुभेच्छुकले पशुपति आर्यघाटमा अन्तिम संस्कारमार्फत उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।