रौतहट । पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष तथा एमालेका नेता जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन्। आफ्नै सालीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई वीरगन्जबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जगरनाथपुर गाउँपालिका–५ घर भई हाल वीरगन्ज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका करिब ४० वर्षीय जाफिरलाई बिहीवार साँझ पक्राउ गरिएको हो।
प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार उनलाई ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
भैंसी तथा पाडाको व्यापार गर्दै आएका जाफिरमाथि जगरनाथपुर गाउँपालिका–४ निवासी आफ्नी सालीको मृत्यु घटनामा संलग्न रहेको आरोप छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले यसअघि उनका दाजु नासिर अहमद मन्सुरीलाई पनि पक्राउ गरिसकेको छ।
नासिरलाई गत असोज ३ गते पक्राउ गरिएको थियो। उनी हाल प्रहरी हिरासतमा रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया